Friday, May 22, 2009


सञ्जय राई

कविको कुरा

कविता जीवनका जीवन्त रङहरू हुन्‌ जुन रङले हामी लेखिन्छौं,पढ़िन्छौं ।

चुनाउस्केच


चुनाउ प्रचार-प्रसार अभियान सकेर
फर्किएका छन्‌
लुते
विकास योजनाहरू।

मरम्मती पर्खेर बसेको जीर्ण सड़कको भित्ताको पोस्टरले
अझ थामिराखेको छ
विकास ल्याउने नेताको गह्रौं अनुहार।

सड़क, बिजुली र पानीकै समस्याहरूलाई
चुनावी सिम्फोनीमा
अझ लय हालेर गाउन सक्छ
चारपटक चुनाउ जित्ने
सुग्घर नेता।

डिजीटल प्लेटमा
पञ्चवर्षीय योजनाको रिमिक्स गीत
कानै खानेगरी बजाउँदैछन्‌
चुनाउ जकीहरू।

निर्वाचन क्षेत्रको धुलो चाटेर
संसद र विधानसभाको गेटअपमा उत्रेको
एमपीस एमेलेहरू आउन मान्दैन हतपत्त
गाउँको उद्‌घाटन समारोहहरूमा।

चुनावै पिच्छे चौतर्फी विकासको
स्वर्णगीत गाउने बहुमत सरकारको काखमुनी
अझ तन्किरहेछ
गरीबीरेखा झैं दुर्गन्धित रौंहरू।

पॉंच-पॉंच वर्षमा फिक्स डिपोजीट जस्तो
भोट ब्याङ्‌कबाट
कति सजिलो
क्यास गराएर लैजान्छन्‌
भोटविकासको आश्वासनको
ऋणमा डुबेको नेताजी।

...दगुर दगुर जनता तेरो घरमा नेता पस्यो...
ब्ल्याकेनवाइट टीभीमा स्वतन्त्रता दिवसको परेड हेरेर

रमाउने गाउँको पाखामा
कहिल्यै पूरा नहुने परियोजनाको शिलान्यास गरेर फर्किन्छ
सत्ताधारी जनप्रतिनिधि।

ढुकुमुकु ढुकुमुकु कस्को हात?
जनताको?
कसको राज?
नेताको?

चुनाउपछि मोटाएका छन्‌
विकास योजनाहरू।